काठमाण्डु-२०७८ भदौ ८ गते भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं ओर्लने बित्तिकै प्रधानमन्त्री निवास बालुवाटार पुगे ।
त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवा सरकार बनेको ४० दिनपछि भारतीय सत्तारुढ दलले राजनीतिक तहमा गरेको यो पहिलो भ्रमण थियो । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको निम्तामा चौथाइवाले नेपाल आएका थिए । पार्टीगत रूपमा भएको चौथाइवालेको त्यो भ्रमणमा उनले बालुवाटारको आतिथ्य र आत्मियताबाट मन्त्रमुग्ध भएका थिए ।
किनभने प्रधानमन्त्री निवासको बैठक कक्षमा छिर्दै गर्दा उनलाई स्वागत गर्न हातमा पूजाको थाली लिएर प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पर्खिरहेकी थिइन् ।
जनै पूर्णिमाका दिन नेपाल आइपुगेका उनले बालुवाटारमा पुगेर रक्षा बन्धन मनाए । प्रधानमन्त्री देउवा पत्नी राणाले चौथाइवालेलाई राखी बाँधिदिएर भातृत्वको सत्कारसहित स्वागत गरिन् ।
राणाले चौथाइवालेलाई राखि बाँधिदिएर नेपाल र भारत, कांग्रेस र भाजपाबीचको सम्बन्ध सुमधुर होओस् भनेर कामना गरिन् । आरजुले चौथाइवालेलाई राखी बाँधिदिएपछि नेपाली राजनीतिमा ‘राखी कुटनीति’ सुरु भएको हो ।
आरजुको ‘राखी कुटनीति’लाई परराष्ट्रका जानकारहरूले विशेष पनि भनेका थिए त्यतिबेला । यसले दुई देशका सांस्कृतिक एकता र समरुपता पनि दर्शाएको जानकारहरूले भनेका थिए ।
तर, नेपालका सरकारसँग चिढिएको भारतलाई फकाउन ‘राखी कुटनीति’ को कदम चालिएको भन्नेहरू पनि छन् ।
राणाको ‘राखी कुटनीति’भन्दा केही पहिले जेठ २८ गते देउवासहित पाँच पूर्व प्रधानमन्त्रीहरूले भारततर्फ संकेत गर्दै मुलुकमा बाह्य हस्तक्षेप बढेको र त्यसो हुँदा आफूहरूलाई स्वीकार्य नहुने वक्तब्य निकालेका थिए । पूर्वप्रधानमन्त्रीहरूको त्यो वक्तव्यबाट भारत झन् चिढिएको थियो । आफू प्रधानमन्त्री भएको बेला भारतसँगको सम्बन्ध सुमधुर बनाउन र भारतीय संस्थापन पक्षलाई फकाउन देउवाले नै पत्नी राणामार्फत ‘राखी कुटनीति’ अपनाएको त्यस बेला विश्लेषण गरिएको थियो । देउवा नेतृत्वको गठबन्धन सरकार भारतीय रुचि होइन भन्नेमा स्वयम् देउवालाई थाहा थियो । र उनले यसका लागि पत्नीलाई प्रयोग गरेका थिए ।
राणाले ‘राखी कुटनीति’ अपनाउनु अघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतका पूर्व विदेशमन्त्री सुस्मा स्वराजलाई ‘बहनजी’ले सम्बोधन गर्थे ।
२०७२ सालमा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा ओलीको जन्मदिन परेको थियो । ओलीले भारतमै केक काटेर जन्मदिन मनाएका थिए । त्यसैबेला स्वराजले ओलीलाई भाइको नाता लगाएकी थिइन् ।
दुई देशीय सम्बन्धमा यस्ता व्यक्तिगत सम्बन्धलाई जानकारहरूले ‘अर्थपूर्ण’ मान्दछन् ।
अहिले बालुवाटारलाई दिल्लीले यतिधेरै महत्व दिनुको पृष्ठभूमिमा आरजुको ‘राखी कुटनीति’ले पनि काम गरेको कतिपयको धारणा छ ।
अहिले ओली नेतृत्वको कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारमा ‘राखी कुटनीति’की जन्मदात्री राणा परराष्ट्रमन्त्री छिन् ।
उनै मन्त्री राणा आज भारत प्रस्थान गरेकी छन् । स्वास्थ्य उपाचारका लागि भारत जाने उनको तयारी थियो । तर भारतीय विदेशमन्त्री एस जयशंकरले उनी उपचारका लागि भारत आउने जानकारी पाएपछि उनको भ्रमणलाई औपचारिकता प्रदान गरे र राणाको भ्रमण ‘औपचारिक भ्रमण’मा तय भयो ।
भारत भ्रमणका क्रममा मन्त्री राणले भोलि भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । भेटमा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मन्त्री राणाको भेटघाट हुने वा नहुने निश्चित भइसकेको छैन । यद्यपी नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मोदीसँग राणाको भेटघाट गराउने प्रयासमा छन् । यदि मोदीसँगको भेट निश्चित भयो पनि त्यो सम्भवतः सोमबार नै हुनेछ ।
राणा रक्षाबन्धनको पूर्वसन्ध्यामा आज भारत प्रस्थान गरेकी हुन् । आज भारत प्रस्थान गरेपनि उनको औपचारिक भेटघाटको सुरुवात सोमवारबाटै सुरु हुनेछ । सोमवार जनैपूर्णीमा अर्थात् रक्षाबन्धन पनि छ । नेपालमा जनैपूर्णीमा र रक्षाबन्धन अत्यन्तै सौहाद्र र हर्षोल्लासपूर्वक मनाइन्छ । भारतमा जनैपूर्णीमा नमनाइए पनि रक्षाबन्धन भने उल्लासका साथ मनाइन्छ ।
राणाको परीक्षा
नेपाल–भारतसम्बन्धमा राणाले सुरु गरेकी ‘राखी कुटनीति’को परीक्षा पनि भोलिबाटै सुरु हुनेछ । यसअघि भाजपा नेता चौथाइवालको हातमा राखी बाँधेकी राणाले समकक्षी जयशंकर र भारतीय प्रधानमन्त्रीलाई राखी बाँध्न कति सक्षम हुनेछिन्, भोलि नै थाहा हुनेछ । ‘राखी कुटनीति’की जननी राणा आफ्नो कार्यकालमा नेपाल–भारतसम्बन्धलाई कस्तो उचाइँमा पु¥याउनेछिन् आगामी दिनमै थाहा हुनेछ ।
तर नेपालका परराष्ट्र सम्बन्धका जानकारहरूले नेपालको वर्तमान सरकार भारतका लागि सहज भएकाले दुई देशको सम्बन्ध सुदृढ बनाउने यो राम्रो अवसर भएको बताउँछन् । यस अर्थमा पहिलो पटक मन्त्री बनेर परराष्ट्र मन्त्रालय जस्तो जिम्मेवार भूमिकामा रहेकी राणाका लागि भने चुनौतीविहीन भने पक्कै छैन ।
प्रधानमन्त्री ओलीको सरकारलाई कुटनीतिक सम्बन्धमा गति दिने, टिकाउने र सहयोगी भूमिकामा उतार्न उनको भूमिका प्रधान छ ।
कांग्रेस र एमाले समीकरण बन्दा पति देउवा र ओलीले सात बुँदे सहमतिमा हस्ताक्षर गर्दा राणा साक्षी थिइन् । यो गठबन्धन बनाउन उनको पनि भूमिका रहेको देखिन्छ ।
भारतीय पक्षले ओलीलाई त्यति मन पराउने गरेको बुझाई छैन । किनभने २०७२ सालमा नाकाबन्दीका बेला ओलीले भारतलाई दिएको चुनौती, प्रधानमन्त्री रहेका बेला लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्शा जारी गरेकोप्रति भारत सकारात्मक छैन ।
संविधान जारी भएको बेला भारतले ‘रिभ्यु’ गर्न भने पनि ओलीले नकारेको तथा चीनसँगको सम्बन्धमा ओली नजिक रहेको भारतीय बुझाईबीच राणाको कुटनीतिक क्षमता प्रदर्शन गर्ने समय आएको छ ।
किनभने नेपालका लागि भारतका पूर्वराजदूत रणजीत रेले ओलीको नेतृत्व अहिलेको सरकार भारतका लागि खतरा रहन सक्ने टिप्पणी गरेका छन् । यी सबै धारणालाई चिर्न राणाको परीक्षा सुरु भइसकेको छ ।
परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी राणालाई दिन एमाले सहमत हुनुको पछाडि पनि भारतसँग ओलीको बिग्रिएका सम्बन्धमा निखार ल्याउन गरिएको हो पनि विश्लेषण गरिन्छ ।
त्यसैले पनि होला। ओली प्रधानमन्त्रीमा नियुक्त हुना साथ भारतीय समकक्षी नरेन्द्र मोदीले दुई पटक बधाई दिएका थिए । यस्तै भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्केको साता दिन नबित्दै राणाको भारत भ्रमण भएको हो ।
प्रतिक्रिया