काठमाण्डु- ओमानको मस्कट भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्दैछिन् ।
‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिने क्रममा दुई देशका मन्त्रीहरूबीच आइतबार साइडलाइन भेटवार्ता हुन लागेको हो ।
ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा मन्त्री राणा र भारतका विदेशमन्त्री जयशंकर ओमान पुगेका हुन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार दुई देशका मन्त्रीहरूबीच साइडलाइन बैठक हुने र त्यस अवसरमा द्विपक्षीय महत्वका विषयमा कुराकानी हुनेछ । यसअघि यसै वर्ष भदौ ३ मा भारत भ्रमणका क्रममा मन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटघाट भएको थियो ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछिन् ।
साथै उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
परराष्ट्र मन्त्री डा. राणाले खाडी सहयोग परिषद् (जिसिसी) राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक गर्ने छिन् ।
प्रतिक्रिया