काठमाण्डु- डडेल्धुरामा मृत अवस्थामा फेला परेकि अस्मिता धामीका लागि न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा स्थानीयहरुले धर्ना दिएका छन् । जिल्लाको परशुराम नगरपालिका –८ जमरानीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि समितिले धर्ना दिएको हो ।
हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग आफूहरुको रहेको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिएका छन् ।
अहिले टाउकोमा कालो पट्टी बाँधेर धर्ना दिइरहेको तर अस्मिता मृत्यु प्रकरणमा प्रशासन अझै मौन रहेमा चर्को आन्दोलन गर्ने चेतावनी समितिका उपसंयोजक मानबहादुर बोहराले बताए । असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका– ९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । तर प्रहरीले हालसम्म मृत्युको कारण बताउन सकिरहेको छैन ।
उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे प्रहरीले कुनै कारण खुलाउन नसके पनि शरीरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खाली बोतल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले दावी गरेका छन् ।
प्रतिक्रिया