सरकारले अघि सारेको विकासको काममा लाग्न प्रधामन्त्रीले दिए सेनालाई निर्देशन


कठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्रीहरुसहित सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन । प्रधानमन्त्री ओलीले शुक्रबार कार्यालय समयपछि गृह, अर्थ, परराष्ट्र मन्त्री सहित जंगी अड्डाको निरीक्षण भ्रमणमा गएका हुन् ।

नेपाली सेना विकास निर्माण, उत्पादन, प्रत्यक्ष सुरक्षा तथा रक्षा र कुटनीतिक सम्बन्ध बिस्तारमा सक्रिय रहेका बेला प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र विभागीय रक्षा मन्त्री ईश्वर पोखरेलसहित सेनालाई निर्देशन दिए ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डरीले सैनिक मुख्यालयमा प्रधानमन्त्रीको निरीक्षण भ्रमण औपचारिक रहेको बताए । उनले यसअघिका प्रधानमन्त्रीसँगै विभागीय मन्त्री रहेपनि सैनिक कामकारवाहीमा जोडिएका अन्य मन्त्रालयबाट प्रतिनिधित्व नरहने गरेको बताए ।

प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेनाका गतिविधी र योजनाको जानकारी सहितको प्रस्तुती गरेका थिए ।यस्तैँ सैनिक विभागका रथीहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, अपरेसनल गतिविधि, आन्तरिक सुरक्षा, कल्याणकारी कार्यहरु र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । ओलीले नेपाली सेनालाई राज्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौतीहरु पनि सामना गर्न सक्ने गरी तयार रहन निर्देशन दिएका छन् ।

‘राष्ट्रिय सुरक्षा नीतिलाई कार्यन्वयन तहमा लैजाने र आईपर्नसक्ने चुनौतीको समाना गर्न तयार रहन निर्देशन भयो, यस्तै सरकारको प्राथमिकतामा रहेको विकास कार्यक्रममा सेनाको सहयोग र योगदानका बिषयमा चर्चा भएको हो’, स्रोतले भन्यो । उनका अनुसार प्रधानमन्त्री ओलीसँगै रहेका सरोकारवाला मन्त्रीहरुसँग ठोस निर्णयमा पुग्नेगरी छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement