एथलेटिक्समा सन्तोषीले रचिन् इतिहास

एथलेटिक्समा सन्तोषीले रचिन् इतिहास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लामो दुरीका धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले मध्यम दुरीमा पनि राष्ट्रिय कीर्तिमान बनाउँदै इतिहास रचेकी छिन् । १५ सय मिटरमा राष्ट्रिय कीर्तिमान बनाउँदै उनी एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छिन् ।

गोल्डेन गर्लको उपमा पाएकी सन्तोषीले भारतको झारखण्डमा आयोजित नेशनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा शनिबार नयाँ कीर्तिमान कायम गरेकी हुन् । सामान्यतया लामो दुरी र मध्यम दुरीमा एकै सिजनमा कीर्तिमान राख्नु एथलेटिक्समा दुर्लभ मानिन्छ ।

उनले १५ सय मिटर दुरी ४:२७:३५ मिनेटमा पार गर्दै सरस्वती भट्टराईले रियो द जनेरियो, ब्राजिलमा २०१६ मा राखेको ४:३३:९४ मिनेटको कीर्तिमान ०६:५९ सेकेण्डले भंग गरेकी हुन् ।

सन्तोषी एथलेटिक्स फेडेरेसन अफ इण्डियाको निमन्त्रणा र नेपाल एथलेटिक्स संघको सिफारिसमा यस प्रतियोगिता खेलेकी हुन् । सो खेलमा सन्तोषी छैटौं भएकी थिइन् । १५०० मिटर महिला फाइनल प्रतियोगिता झारखण्डको राँचीस्थित बिर्स मुण्ड स्टडियममा शनिबार राति ८:०५ बजे भएको हो । 

यसअघि उनले २०८२ चैतको अन्तमा ३००० मिटरमा पोखरा खुल्ला एथलेटिक्स मिटमा ३५ वर्षअघिको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । 

त्यस्तै गत मंसिरमा स्पेनको भ्यालेन्सिया म्याराथनमा सन्तोषीले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मि. पुरा गर्दै वि.सं. २०८२ कै बैशाखमा लण्डन म्याराथन (२:४२:५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी थिइन् । 

त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । साथै २०८० कै कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । 

सन् २०१९ मा १३ औं सागमा नेपालका लागि ऐतिहासिक रुपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रुपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।

नेपाल रनको क्लव एम्बेसडर सन्तोषीको खेल प्रवर्दन र सहयोग पछिल्लो वर्षयता नेपाल रन लण्डनले गर्दै आएको छ ।