काठमाण्डु – वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई दोस्रोपटक महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डु महानगरपालिका–७ चाबहिल निवासी बडाललाई महान्यायाधीवक्ता नियुक्त गरेका हुन् ।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरिसकेका थिए ।
बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए।
बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि उपस्थित थिए।
प्रतिक्रिया