व्यवसायी लामामाथि आक्रमण गर्ने २ आरोपित पक्राउ

व्यवसायी लामामाथि आक्रमण गर्ने २ आरोपित पक्राउ


काठमाण्डु-काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि भएको रड प्रहार प्रकरणका दुई आरोपित पक्राउ परेका छन् ।

रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनीहरूलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

नुवाकोटको ककनी गाउँपालिका ६ का ३५ वर्षी घरजग्गा व्यवसायी विक्रम लामामाथि गत कात्तिक ११ गते आक्रमण भएको थियो । उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।

जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए ।

अर्का दुई प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् । टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।