सेना सिध्याउने दुस्साहस :  घुसपैठ गर्न नपाएपछि दुष्प्रचारमार्फत आक्रमण


  •  बसन्त खड्का, काठमाडौं – नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापाले पदभार सम्हालेपछि आन्तरिक सुधारका केही काम गरे । जसमध्ये एउटा थियो – कूटनीतिक मर्यादा कायम राख्ने ।

सेनापति थापाले विदेशी राजदूत र सैनिक सहचारीलाई सिधै प्रधानसेनापतिलाई भेट्ने चलन रोके । विगतमा कर्नेल तहका विदेशी सैनिक सहचारीले सोझै प्रधानसेनापतिलाई भेट्ने गरेका थिए । तर हाल सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुखसँग सैनिक सहचारीले कुरा राख्ने र आवश्यक परे मात्रै प्रधानसेनापतिलाई भेट्ने व्यवस्था मिलाउने गरिएको छ ।

आफू मात्रै होइन, सेनापति थापाले मातहतका सैनिक अधिकृतहरूलाई समेत जथाभावी भेटघाट गर्न रोक लगाउँदै कडा अनुशासन कायम गरेका छन् । सेनापतिको कदमले विदेशीहरू जथाभावी सैनिक मुख्यालयमा छिर्ने प्रवृत्ति रोकिएको छ । नेपाल र सेनाका लागि अनुशासन राम्रो भएपनि चलखेल र घुसपैठ गर्न चाहने तत्व थापाको कदमबाट बिच्किएका छन् । जसको नतिजा स्वरुप पछिल्ला केही महिनादेखि नेपाली सेनामाथि विभिन्न निकाय र क्षेत्रबाट शृंखलावद्ध प्रहार भइरहेको छ । 

सैनिक संवेदनशीलता

नेपाली सेना राष्ट्रिय अस्तित्वसँग जोडिएको संस्था हो । आन्तरिक सुरक्षा बन्दोबस्तको काम नेपाल प्रहरीले हेर्ने भएपनि बाह्य आक्रमण, चलखेल र घुसपैठप्रति सेना हरपल सचेत रहनुपर्छ । सेनाले गरेका काम दृश्यमा देखिँदैनन् तर अदृश्य काम गरिरहेको सेनाकै कारण देशको अस्तित्व रक्षामा सहयोग पुगेको छ ।

विदेशी डलर र एजेण्डा हाबी हुँदै राज्यका विभिन्न निकायमा प्रहार भइरहेका बेला सेनाले सांगठनिक अनुशासन र गोपनीयतालाई कायम राख्न सफल भएको छ । सैनिक संवेदनशीलताका कारण नै नेपाली सेनाभित्र कठोर अनुशासन समेत हुने गर्छ । सेनाको सांगठनिक संरचना, अनुशासन र गोपनीयताका कारण घुसपैठ र चलखेल गर्न नपाइएपछि सेनामाथि प्रहार गर्ने अनेक कोसिस भइरहेका देखिन्छन् । 

सेनाको लोकतान्त्रिकीकरणदेखि आर्थिक पारदर्शिता लगायतलाई कारण देखाउँदै सैनिक संवेदनशीलतामाथि प्रहार गर्ने प्रयास भइरहेको छ । सैनिक अनुशासन र गोपनीयतालाई भंग गर्न देशभित्रकै केही स्वार्थी समुह लागेरसेनालाई विवादमा ल्याउन खोजिएको छ । जुन सैनिक संवेदनशीलताको विपरीत छ । सैनिक संवेदनशीलताविरुद्ध प्रकट भइरहेको बाह्य स्वार्थलाई समयमै चिन्न नसकिए सेना समेत घुसपैठको शिकार हुने देखिँदैछ ।

सूचनाको स्वार्थ

विदेशी स्वार्थ अनुसार योजना बनाउन र प्रभाव जमाउन सूचनाहरू चुहिएर विदेशसम्म पुग्ने गरेका समाचार पटक–पटक सार्वजनिक हुन्छन् । नेपाली जनताले सूचना नपाउँदै मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि नै धेरै सूचना विदेशीले पाइसक्ने गरेका चर्चा वर्षाैदेखि चल्दै आएका छन् । ती सूचनाकै आधारमा विदेशीले दबाब दिएर निर्णय रोक्नेदेखि निर्णय फेर्नेसम्मका काम हुँदै आएका तथ्य इतिहासका पाना देख्न पाइन्छ ।

नेपाली सेनाको गोपनीयताले सूचना चुहिने समस्या देखिएको छैन । जसले गर्दा सैनिक संगठन मजबुत र सुरक्षित समेत छ । सेनाको शक्ति सञ्चय, हातहतियार बन्दोबस्ती, तालिम कौशल, सांगठनिक एकता र असन्तुष्टिको बिन्दू लगायत विषयमा हरेक विदेशीले जान्न खोज्छन् । अर्काे देशको सेनाभित्रका सूचना चोरेर शक्तिको आकलन गर्ने र त्यसैअनुसार योजना बनाउने विदेशी स्वार्थ रहन्छ । 

नेपाली सेनाभित्रको सूचना थाहा पाउने कोसिस गरिरहेका विदेशीको स्वार्थलाई सेनापति थापाको नीतिले झड्का लागेको छ । विदेशी र अनावश्यक व्यक्तिलाई जथाभावी भेटघाट गर्न नदिने सेनापतिको नीतिले सांगठनिक अनुशासन र गोपनीयतालाई कायम राखेको छ । सूचना चोर्ने र बेच्ने धन्दामा रहेका कतिपय व्यक्तिहरूलाई सैनिक अनुशासन पचेको छैन र सैनिक संगठनलाई विवादमा ल्याउने कोसिस भइरहेको छ । जननिर्वाचित सरकारले दिएको म्याण्डेटलाई अक्षरस पालना गरिरहेको सेनामाथी किन यति धेरै आक्रमण भइरहेको छ यो सवै सचेत नेपालीले जान्नैपर्ने भएको छ । 

विवादका अनेक प्रयास

राज्यका महत्त्वपूर्ण अंगहरूमध्ये चलखेल र घुसपैठ गर्ने स्वार्थ समूहबाट मुक्त रहेको सैनिक संगठन एक हो । नेपाल राष्ट्रमाथि भइरहेका विभिन्न अदृश्य षड्यन्त्रबाट सेना टाढा रहेको छ । विभिन्न संवैधानिक निकायलाई विवादमा ल्याउने र संस्थागत आस्था कमजोर बनाउने रणनीति अनुरुप सेनालाई समेत विवादमा ल्याउन खोजिँदैछ । जवकी सेनाले संविधानले दिएको अधिकारअनुसार नै काम गरिरहेको छ । 

सरकारले जिम्मेवारी दिएका विभिन्न विकास आयोजना, सैनिक बन्दोबस्तीका सामान खरिद, हातहतियार र विभिन्न स्रोतसाधन खरिदमा सेनालाई विवादित बनाउने खेलहरू भइरहेका छन् । सेनालाई विवादित बनाउँदै एकातिर सूचना चुहाउने र अर्काेतिर सेनाको आस्था र विश्वास खस्काउने कोसिस भइरहेको देखिन्छ । सरकारले दिएका जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने क्रममा सेनालाई विवादमा ल्याउन खोजिनु कीमार्थ जायज हुँदैन ।

सेनामा अख्तियार घुसाउनेदेखि संसदीय समितिले छानबिन गर्ने लगायतका नयाँ–नयाँ बहस सिर्जना गरेर सेनाभित्र घुस्ने बाटाहरूको खोजी भइरहेको छ । सेनालाई सिध्याउने दुस्साहस गर्दै सञ्चारमाध्यमदेखि राज्यकै विभिन्न निकायमा रहेका व्यक्तिलाई प्रयोग गरेर सेनाभित्र घुस्न खोजिएको देखिन्छ । यसमा समयमै सचेत भईएन भने सेनाको अवस्था पनि राज्यका अन्य संयन्त्रजस्तै पंगु नहोला भन्न सकिन्न । त्यसैले सेनामाथी भइरहेको आक्रमणलाई गम्भिरतपूर्वक लिएर समयमै सचेत बनौ । 

प्रतिक्रिया दिनुहोस
Advertisement