काठमाण्डु –अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रधानमन्त्री वालेन शाहसँग शुक्रबार टेलिफोन वार्ता गरेका छन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा भएको जनधनको क्षतिको सन्दर्भमा दुःख व्यक्त गर्न कठिन परिस्थितिमा नेपाललाई साथ दिन अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिले टेलिफोन गरेका हुन् ।
टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाउनुभएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे ।
साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गरे । खासगरी अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्रीले आभार व्यक्त गरे ।
उनले नेपालमा बाढीका कारण बेपत्ता हुनु भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको बताउँदै नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए ।
संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरे । उनले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।
बाढी र त्यसले निम्त्याएको विनाशलाई सुनामीजस्तै भन्दै प्रधानमन्त्री अल्बानिजले यस कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘अस्ट्रेलिया नेपालको साथमा उभिएको छ र मानवीय सहायता सामग्री, उपकरण तथा विशिष्ट क्षमतामार्फत सबैभन्दा बढी आवश्यकता भएको क्षेत्रमा सहयोग पुर्याइरहेको छ।’




प्रतिक्रिया