अष्ट्रेलिया र दक्षिण अफ्रिका पुगे टी-२० विश्वकपको सुपर-८ मा

अष्ट्रेलिया र दक्षिण अफ्रिका पुगे टी-२० विश्वकपको सुपर-८ मा


अमेरिका – दक्षिण अफ्रिका र अस्ट्रेलिया आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा प्रवेश गरेका छन् । दुवै टोलीले लगातार तीन खेल जित्दै सुपर–८को स्थान पक्का गरेका हुन् ।

ग्रुप बीमा रहेको अस्ट्रेलियाले नामिबिया, इंग्ल्याण्ड र ओमनलाई हरायो । ग्रुप डीमा रहेको दक्षिण अफ्रिकाले नेदरल्याण्ड, बंगालादेश र श्रीलंकालाई हरायो ।

बिहान सर भिभियन रिचर्ड्स रंगशालामा भएको खेलमा उपाधि दाबेदार अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।

जित्नलाई ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ट्रविस हेडले १७ बलमा ३४, डेविड वार्नरले ८ बलमा २० र मिचेल मार्शले ९ बलमा १८ रन बनाए । नामिबियाका डेविड विजाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभरमा ७२ रनमा अल आउट भएको थियो । नामिबियाका कप्तान जेराल्ड इरास्मसले ४३ बलमा ३६ र माइकल भान लिंगेनले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।

अष्ट्रेलियाले ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो । अष्ट्रेलियाले १६ जुनमा स्कटल्यान्डसँग खेल्नेछ ।