एकै दिन ४२ अर्ब राजस्व


काठमाडौँ –  सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजस्व सङ्कलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको हो । कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपियाँ सङ्कलन गरिएको छ । यो कुल राजस्व लक्ष्यको ३८.९५ प्रतिशत हो ।

सरकारले पुस मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन निकै प्रयत्न गरे पनि पहिलो छ महिनासम्मको राजस्व लक्ष्य भने भेट्न सकिएको छैन । पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको हो । अघिल्लो आवको पुससम्म सरकार पाँच खर्ब २० अर्ब रुपियाँ सङ्कलन गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement