को हुन् इरानका ‘सर्वोच्च नेता’ आयतुल्लाह अली खामेनेई ?

को हुन् इरानका ‘सर्वोच्च नेता’ आयतुल्लाह अली खामेनेई ?


काठमाण्डु – इजरायल र इरानबीच जारी युद्धमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको चर्चा संसारभर भइरहेको छ ।

इरानमा मात्र होइन, उनी मुस्लिम देश र संसारभर नै शक्तिशाली मानिन्छन् ।

त्यसैले अहिले इजरायलसँगको युद्धमा उनको हत्या गर्ने इजरायली योजना पनि बनेको छ । अमेरिकाको सहयोगमा उनको हत्या गर्ने योजनालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरिदिएका छन् ।

आफ्नो अस्तित्वमाथि खतरा उत्पन्न गराउने इरानको परमाणु क्षमतालाई नष्ट पार्ने इजरायलको घोषित लक्ष्यबाहेक इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अहिलेको सैन्य हमला त्यहाँ सत्ता परिवर्तनको कारक हुन सक्ने बताएका छन् ।

यसअघि नेतन्याहूले इरानका जनतालाई सिधै आह्वान गर्दै त्यहाँका नेताहरूविरुद्ध बाहिर आउन अनुरोध गरेका थिए ।

को हुन् आयतुल्लाह ?

आयतुल्लाह अली खामेनेईको जन्म १९३९ मा इरानको उत्तरपूर्वी शहर मशहदमा भएको थियो, जसलाई देशको सबैभन्दा पवित्र शहर मानिन्छ ।

आफ्ना पिताजस्तै उनले पनि मौलवी बन्ने बाटो रोजे र शिया मुसलमानहरूको २ प्रमुख धार्मिक शिक्षा केन्द्रहरूमध्येको एक कुममा गएर धार्मिक शिक्षा प्राप्त गरे । ११ वर्षको उमेरमा उनी मौलवी बनेका थिए ।

यद्यपि खामेनेई त्यस्तो समयमा इरानमा हुर्किरहेका थिए, जब शाह मोहम्मद रजा पहलवीको शासन थियो । त्यसबेला इरान एक राजतन्त्र थियो, जहाँ पहलवी वंशका शाहहरूले शासन चलाउँथे ।

शाहलाई एक धर्मनिरपेक्ष राजा मानिन्थ्यो, जसले धर्मलाई एक पुरातन र अप्रासंगिक अवधारणा ठान्दथे । उनी धार्मिक मानिसहरूलाई शंकाको दृष्टिले हेर्थे ।

आयतोल्लाह अली खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तियताका दोस्रा सर्वोच्च नेता हुन् र सन् १९८९ यता उनी सर्वोच्च पदमा छन् । युवा इरानीहरूले अली खामेनेई सर्वोच्च पदमा नरहेको शासनकाल भोग्न पाएका छैनन् ।

उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा छन्, जो सार्वजनिक नीति सम्बन्धी मामिला एवम् सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्छन् ।

राष्ट्र प्रमुख तथा सेना प्रमुखको हैसियतले उनको पद एकदमै शक्तिशाली छ । सेनाभित्र इरानी रेभोलुसनरी गार्ड कोर (आईआरजीसी) पनि पर्छ ।

कैयौ वर्षसम्म उनी भूमिगत रहे र जेल जीवन पनि बिताए । उनी तत्कालीन राजा शाहका गोप्य प्रहरीहरूद्वारा ६ पटकसम्म गिरफ्तारीमा परेका थिए भने यातना झेल्नुका साथै आन्तरिक रूपमा निर्वासित पनि भए ।

सन् १९७९ मा शाहको सत्ता ढल्यो र अयातुल्लाह रुहोल्लाह खुमैनी पेरिसबाट फर्केर इरानमा इस्लामिक गणराज्यको स्थापना गरे । त्यस समयमा इरानका सडकहरूमा केवल २ व्यक्तिहरूका तस्वीरहरू देखिन्थे–एक अयातुल्लाह खुमैनीको र अर्को हुसैन अली मोंतजÞरीको ।

इस्लामिक इरानमा अब शासनको बागडोर मौलवीहरूको हातमा थियो र ती मौलवीहरूमध्ये एक नाम अली खामेनेईको पनि थियो । उनी धेरै छोटो समयमा खुमैनीका सबैभन्दा नजिकका सहयोगीमध्ये एक बन्न पुगे ।

त्यही वर्ष तेहरानस्थित अमेरिकी दूतावासमा कब्जा गर्ने घटनामा पनि खामेनेईले महत्वपूर्ण भूमिका निर्वाह गरे । उक्त घटनाक्रमपछि अमेरिकासँग संवाद स्थापित गर्ने जिम्मेवारी पनि उनलाई दिइयो ।

पछिल्लो समयमा अली खामेनेईलाई देशको उप–रक्षा मन्त्री नियुक्त गरियो । यस अवधिमा उनले इस्लामिक रिभोल्यूशनरी गार्ड कोर (आईआरजीसी) लाई संगठित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

आईआरजीसीपछि गएर इरानका सबैभन्दा शक्तिशाली संस्थाहरूमध्ये एक बन्यो । यो बल स्थापना गर्ने उद्देश्य थियो – यस्ता फौज तयार गर्नु, जसले देशका धार्मिक, राजनीतिक र आर्थिक मोर्चाहरूमा लड्न सकोस् र इस्लामिक राष्ट्रलाई मात्र बाह्य खतरा होइन, आन्तरिक संकटहरूबाट पनि सुरक्षित राख्न सकोस् ।

उनलाई इरानको अर्को राष्ट्रपति चुनियो । सन् १९८१ देखि उनले ७ वर्ष ३११ दिनसम्म देशको राष्ट्रपतिको रूपमा सेवा गरे ।

उनी राष्ट्रपति रहँदा नै इराकका तत्कालीन शासक सद्दाम हुसेनले इरानमाथि हमला गरे, जसपछि दुवै देशबीच ८ वर्ष लामो र विनाशकारी युद्ध सुरु भयो ।

युद्धको दौरान खामेनेईले थुप्रै महत्वपूर्ण निर्णयहरू लिए र रणनीतिक मोर्चाहरूमा सक्रिय भूमिका खेले । आयतुल्लाह अली खामेनेई अमेरिकालाई ‘ठूलो शैतान’ र इजरायललाई ‘सानो शैतान’ ठान्छन् ।

अमेरिका र इरानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ र यसको पछाडि थुप्रै ऐतिहासिक घटनाहरू रहेका छन् ।

जस्तैः सन् १९५३ मा अमेरिकी गुप्तचर संस्था सीआईए र बेलायतको सहयोगमा इरानमा गरिएको शासन परिवर्तन, सन् १९७९ को इरानी क्रान्ति, तेहरानस्थित अमेरिकी दूतावासमा भएको बन्धक संकट, इराकसँगको ८ वर्ष लामो युद्ध, इरानको परमाणु कार्यक्रम र डोनाल्ड ट्रम्पसँगको टकराव जस्ता घटनाहरू छन् ।

जहाँसम्म इजरायलको कुरा छ, इस्लामिक क्रान्तिभन्दा अगाडि इरान र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध थियो । तर क्रान्ति पछाडि इरानले न केवल इजरायलको अस्तित्व अस्वीकार गर्‍यो तर उसले प्यालेस्टिनी मुद्दाको कट्टर समर्थन पनि गर्न थाल्यो ।

समय–समयमा दुवै देशबीच ‘स्याडो वार’ अर्थात् पर्दामुनि सञ्चालन हुने सैन्य र साइबर आक्रमणहरू भइरहने गरेका छन् ।

तर पछिल्ला वर्षहरूमा पहिलोपटक यस्तो भएको छ कि इरान र इजरायल लगातार ६ दिनसम्म प्रत्यक्ष सैन्य संघर्षमा संलग्न भएका छन् ।

सन् १९८० को दशकमा गरिएको खामेनेईको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको छ । उनी र उनकी श्रीमति मन्सुरेह खोज्स्तेह बकेरजादेहका ४ छोरा र २ छोरी छन् ।

सार्वजनिक कार्यक्रम अथवा सञ्चारमाध्यममा खामेनेईको परिवार बिरलै देखिन्छ भने उनका सन्तानहरूको निजी जीवनबारे आधिकारिक र प्रमाणित सूचना सीमित मात्रामा मात्रै पाइन्छ ।