प्रचण्डबाट धोका पाएका बाबुराम गोरखा-२ बाट २०८४ मा चुनाव लड्ने


काठमाण्डु- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा गोरखा–२ बाट आफू उम्मेदवार बन्ने बताएका छन् ।

आफूले चुनाव लड्ने गोरखा २ बाट डा. भट्टराईले ०७९ मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिताएकाका थिए । तर, बाबुराम भट्टाराई गोरखा २ बाट आउँदो निर्वाचन आफैँ लड्ने भएका हुन् ।

त्यहाँका मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

‘नेसपा अध्यक्ष भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा-२ का मतदातासँग उहाँको वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा-२ मा उम्मेदवार हुनु हुनेछ ।’, उनले फेसबूकमा लेखेका छन् ।

गोरखा-२ भट्टराईको चुनावी क्षेत्र हो । तर, गत आम निर्वाचनमा भने भट्टराईले प्रचण्डका लागि त्यो क्षेत्र छोडेका थिए । भट्टराईले नयाँलाई अवसर दिने भन्दै आफूले चुनाव नलड्ने बताएका थिए ।

त्यसबेला माओवादी र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने भन्दै बाबुराम र प्रचण्डबीच छलफल भएको थियो । पार्टी एकता गर्ने सहमति अनुसार बाबुरामले आफ्नो निर्वाचन क्षेत्रबाट प्रचण्डलाई चुनावमा उठाएका थिए । तर, प्रचण्डले समाजवादी मोर्चा निर्माण गर्दा नेसपालाई बाइपास गर्दै अघि बढेपछि बाबुराम प्रचण्डसँग रुष्ट बने । यतिमात्रै नभई बाबुराम प्रचण्डले बोक्ने विचारधारामै असन्तुष्ट रहेको दाबा गर्ने गरेका छन् । प्रचण्डले आफूलाई धोका दिएको भन्दै बेला बेलामा उनी प्रचण्डमाथि आक्रोश पाख्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement