काठमाण्डु – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुंगो लगाउनुपर्ने बताए ।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन । हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्वपीडित परिवारको अवस्था के भएको होला ? १९ वर्षसम्म यस्तो कुुरालाई यसरी थाती राख्न मिल्छ ? हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुंगो लगाउनुपर्छ ।’
उनले शान्ति सम्झौताको बेला बेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिए पनि आजसम्म त्यो पूरा नभएको बताए । उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग जसलाई हामीले शान्ति सम्झौताको अभिन्न अंगको रूपमा मानेका थियौं । शान्ति सम्झौताको बेला बेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भन्ने कुरा प्रस्ट लेखिएको छ । साथै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर यो विषयलाई टुंगो लगाउने, सत्यको छानबिन गर्ने, मानव अधिकारको प्रत्याभूति गरेर दीगो शान्तिको प्रत्याभूति गर्ने भन्ने विषयमा २ पक्ष मिलेर अगाडि बढ्ने भन्ने कुरा थियो तर त्यो बेला संसद् थिएन ।’
आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका कामहरू सम्पन्न गर्ने भनेर लागेको पनि उनले सुनाए ।
प्रतिक्रिया