बाबुराम भट्टराईलाई हिन्दु विरोधी बनाइएको र धम्की दिइएको भन्दै सचिवालयको भर्त्सना

बाबुराम भट्टराईलाई हिन्दु विरोधी बनाइएको र धम्की दिइएको भन्दै सचिवालयको भर्त्सना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दु विरोधीको रुपमा चित्रण गरिएको भन्दै उनको सचिवालयले घोर भर्त्सना गरेको छ । सोमबार ध्यानआकर्षण पत्र जारी गर्दै सचिवालयले केहि व्यक्तीहरु भट्टराईकाविरुद्ध योजनाबद्ध रूपमा कन्टेक्स्ट सेटिङ तथा भ्रामक भाष्य निर्माणमा सक्रिय भइरहेकोप्रति आपत्ति भएको जनाएको हो ।

‘पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेका छन्। यसका लागि पुराना भिडिओ तथा अभिव्यक्तिहरूलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। पत्रमा भनिएको छ ।’

राज्यले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु धर्मनिरपेक्षताको मूल मर्म भएको पत्रमा उल्लेख छ । प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषयलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित रहेको भनिएकाे छ।

‘धर्मनिरपेक्षवादी हुनु कुनै धर्मको विरोध गर्नु होइन। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु हो। त्यसैगरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय हो। यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु सर्वथा अनुचित छ।’

यस्ता गतिविधिले व्यक्तिको सुरक्षा तथा प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्‌भाव र राष्ट्रिय एकतामै गम्भीर असर पार्न सक्ने भएकाले यसलाई सामान्य प्रचारबाजीका रूपमा लिनु नहुने सचिवालयले प्रष्ट पारेको छ ।

‘डा. बाबुराम भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड तथा भ्रामक व्याख्यामार्फत प्रस्तुत गर्नु गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहार हो। अझ पछिल्लो समय केही व्यक्तिहरूले धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्रीहरू पोस्ट गर्ने र केही बुर्जुवा व्यक्तिहरू नै योजनाबद्ध रूपमा कन्टेक्स्ट सेटिङ तथा भ्रामक भाष्य निर्माणमा सक्रिय भइरहेकोप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ। यस्ता गतिविधिले व्यक्तिको सुरक्षा तथा प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्‌भाव र राष्ट्रिय एकतामै गम्भीर असर पार्न सक्ने भएकाले यसलाई सामान्य प्रचारबाजीका रूपमा लिनु हुँदैन।’

भट्टराईलाई धम्कीसमेत आइरहेकाले यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।