काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका नेपालस्थित पूर्व विशेष प्रतिनिधि तथा नेपाल मिसन (अनमिन) का प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् ।
भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मार्टिनसँग काठमाडौंमा भेट भएको जानकारी दिएका हुन् ।
भेटमा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति तथा संक्रमणकालीन न्यायका बाँकी कामबारे छलफल भएको उनले बताएका छन् ।
‘नेपालको शान्ति प्रक्रियामा भएको प्रगति र सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायतका विषय अझै टुंगोमा पुग्न नसकेको अवस्थाबारे हामीले छलफल गर्यौँ,’ भट्टराईले लेखेका छन् ।
उनले नेपालमा रहँदा शान्ति प्रक्रियामा मार्टिनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै नयाँ सरकारमार्फत टीआरसीका बाँकी काम सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।
मार्टिन सन् २००६ देखि २००९ सम्म नेपालका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा अनमिनका प्रमुखका रूपमा कार्यरत थिए ।
नेपालको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्ने प्रक्रियापछि हतियार तथा सेना व्यवस्थापनको अनुगमनमा अनमिनले भूमिका खेलेको थियो ।
नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण पक्षका रूपमा रहेको संक्रमणकालीन न्याय अझै पूर्ण रूपमा टुंगिन सकेको छैन ।
द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको सत्य अन्वेषण, पीडितलाई न्याय र परिपूरण तथा दोषीलाई कानुनी जवाफदेहिताको दायरामा ल्याउने विषय यस प्रक्रियाका प्रमुख सवाल हुन् ।
भट्टराई र मार्टिनबीचको भेटमा यी बाँकी काम सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग र चासो निरन्तर रहनुपर्ने विषयमा जोड दिइएको भट्टराईले बताएका छन्।


प्रतिक्रिया