ओली जस्ता जनयुद्धविरोधीका हातमा सत्ता पुग्नु विडम्वनापूर्णः बाबुराम भट्टराई


काठमाण्डु – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धविरोधी केपी शर्मा ओलीको हातमा देशको नेतृत्व पुग्नु विडम्वनापूर्ण भएको बताएका छन् ।

बृहत शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा डा. भट्टराईले नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइककचालोले झैं हल्लाइदिने विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । माओवादी र नेपाल सरकारबीच २०६३ मंसीर ५ गते अर्थात आजकै दिन वृहद शान्ति–समझौता भएको थियो ।

‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति–समझौता भएको ( २०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा’, उनले भनेका छन्, ‘नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक–सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण !’

डा भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक रहेको बताएका छन् ।

‘सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक’, उनले भने, ‘अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह/आन्दोलन,जनजाति आन्दोलन,थरूहट/थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?’

प्रतिक्रिया दिनुहोस