समाजवादी मोर्चाप्रति बाबुरामको टिप्पणी :बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस!


काठमाण्डु – सत्तारुढ चार दल मिलेर गठन भएको समाजवादी मोर्चाप्रति त्यसका सुत्रधार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नै असन्तुष्टि व्यक्त गरेका छन् । विचार मिल्ने पार्टीहरुको पहिले मोर्चा बनाउने र भविष्यमा एकता नै गर्ने उद्देश्यले समाजवादी मोर्चा बनाउन भट्टराई लविङमा लागेपनि उनलाई अन्तिममा त्यसमा सामेल गराइएन ।

यसको पछाडी भट्टराई र जसपा अध्यक्ष उपेन्द्र यादवको टकरावले काम गरेको स्रोत बताउंछ । त्यसका साथै यो मोर्चाप्रति दक्षिणको पनि सकरात्मक धारणा नभएको बताइन्छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले समाजवादी मोर्चाको कडा आलोचना गरेका छन्। उनले ‘कथित समाजवादी मोर्चा’ भन्दै सामाजिक संजालमा स्टाटस नै लेखेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरिएको थियो । जसप्रति सत्ता साझेदार दल कांग्रेस पनि असन्तुष्ट रहेको स्रोतको दावी छ ।

डा. भट्टराईले समाजवादी मोर्चालाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी पनि दिएका छन्। उनले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको बताएका छन् ।

उनले भनेका छन् ‘ समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस ! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस ! ’

प्रतिक्रिया दिनुहोस
Advertisement