बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय युवकको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी १ युवकको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर–९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बोहराले जानकारी दिए । घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो ।

दुवैलाई थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा मंगलबार बिहान थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पार्थिव शरीर कोहलपुर ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१४प ८६२४ नम्बरको मोटरसाइकल सोमबार बिहान ७:२५ बजे बढैयाताल गाउँपालिका–८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।