नेकपाभित्र शक्ति बढाउँदै गृहमन्त्री बादल, ‘बार्गेनिङ पावर’ बढाउने रहस्य


काठमाडौं – तत्कालीन माओवादी आन्दोलनभित्र रामबहादुर थापा ‘बादल’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिल्दाजुल्दा पात्र थिए । शारीरिक बनावट, भाषण कला, चालढाल र शैली सबै प्रचण्डसँग मिल्थ्यो ।

माओवादीभित्र बादल शक्तिशाली पनि थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि बादल प्रचण्ड नेतृत्वको माओवादी पार्टी छाडेर मोहन वैद्य ‘किरण’तिर गए । त्यसपछि बादलको ‘प्रचण्ड शैली’ हराउँदै गयो ।

पुनः प्रचण्डकै पार्टीमा फर्केका बादल राष्ट्रियसभा सदस्य हुँदै गृहमन्त्री बनेका छन् । तर उनले पार्टी एकीकरणपछि लामो समय छुट्टै गुटगत अभ्यास गरेनन् । पार्टीभित्रको विवादमा पनि प्रायः मौन नै रहे । आरोप–प्रत्यारोप र विवादबाट टाढा नै बसे, सत्तासुख भोगिरहे । तर,अहिले बादललाई नेकपा भित्रको शक्ति समिकरणको केन्द्रविन्दुमा छन् । उनलाई अहिले पार्टीभित्रका अधिकाशं नेताहरुले विवादको सहजीकरण गर्न आग्रह गरिरहेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेका बेला गृहमन्त्री बादलले आफ्नो गुटलाई सम्झिएका छन् । मोहन वैद्यलाई छाडेर पुनः प्रचण्डकै पार्टीमा आउँदा बादलसँग ठूलो समूह छ तर त्यो समूहले छुट्टै अभ्यास गर्ने गरेको थिएन । अब छुट्टै शक्ति अभ्यासमा बादल सक्रिय भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भनेर अध्यक्ष प्रचण्ड र वरिष्ठ नेपाल माधवकुमार नेपाल समूहले आवाज उठाए पछि नेकपाभित्र विवाद चर्किएको छ । यो विवादमा बादल समूह एकीकृत थिएन । नेता देव गुरुङ, पम्फा भुसाल लगायत प्रचण्ड पक्षको बहुमत भेलामा सहभागी भएका छन् भने बादल सहभागी भएनन् । तर, भुषाल र गुरुङ दुवै विहिवार भएको बादल समुहको भेलामा सहभागी हुनुले दुवै अन्तिममा बादलसंगै लाग्ने अनुमान गरिएको छ ।

नेकपाभित्र बहुमतको अंकगणितको अभ्यास केही दिनअघि बालुवाटारमै भएको थियो । जसमा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्य राखेर बैठक गर्दै ओलीको बैठक स्थगित गर्ने कदम पार्टी विधि विपरीत भएको निर्णय गरिएको थियो ।

पार्टीभित्र अंकगणितीय खेल हुन थालेपछि गृहमन्त्री बादलले आफूलाई पनि शक्तिको रूप दिने अभ्यास थालेका छन् । स्रोतका अनुसार नेकपा केन्द्रीय कमिटीमा बादल समूहका ३५ जना सदस्य छन् । नेकपाको स्थायी कमिटी र सचिवालयमा समेत बादल समूहको प्रतिनिधित्व छ । नेकपाभित्र छुट्टै गुट बनाउन सके ‘बार्गेनिङ पावर’ बढ्ने बादल समूहको आकलन छ । सरकार गठन, विभिन्न नियुक्ति र अवसर, पार्टी महाधिवेशन, बैठक लगायतमा छुट्टै गुटको शक्ति देखाउन सके बढी फाइदा लिन सकिने रणनीति बादल समूहको रहेको छ ।

पूर्व माओवादी समूह भएपनि बादल समूहका प्रचण्डसँग असन्तुष्टिहरू छन् । प्रचण्डले बादललाई गृहमन्त्रीबाट हटाउने खोजेको, अन्य अवसरमा पनि पक्षपात गर्ने गरेको गुनासो छ । मन्त्रिपरिषद् हेरफेर हुँदा पम्फा भुसालको नाम चर्चामा आउँछ । तर मन्त्री नियुक्तिमा अरु नै पर्छन् । भुषाल माओवादीको महिला आन्दोलनमा समेत सबैभन्दा बढी संघर्ष गरेकी महिला नेतृ हुन् । भुषाललाई मन्त्रीमण्डलमा समावेश गर्नुको साटो अध्यक्ष प्रचण्डले आफ्नी बुहारी विना मगरलाई मन्त्रिमण्डलमा समावेश गरेपछि माओवादीका महिला नेतृहरुले विरोध गरेका थिए ।

सभामुख चयन हुँदा पनि भुसाल र देव गुरुङको नाम चर्चामा आयो । तर प्रचण्डका अत्यन्तै निकट विश्वासपात्र अग्नि सापकोटा सभामुख बने । यसरी बादलको नेतृत्वमा माओवादीमै फर्केका नेताहरूलाई पक्षपात हुने गरेको असन्तुष्टि चरम रूपमा रहेको छ । यद्यपी प्रदेशहरुमा बादल समुहको राम्रो प्रतिनिधित्व रहेको छ ।

बादलप्रति प्रचण्डका पनि असन्तुष्टि छन् । पूर्व माओवादीबाट मन्त्री भएर ओलीको इशारामा काम गर्ने गरेको, प्रचण्डकै गृहजिल्ला प्रहरी नेतृत्व पठाउँदा सिफारिस बेवास्ता गरेको, सुरक्षा निकायका अधिकारीको सरुवा–बढुवामा सल्लाह नगरेको गुनासो खुमलटारको छ । कार्यशैलीबाट असन्तुष्ट भएर प्रचण्डले बादललाई गृहमन्त्रीबाट हटाउन खोजेको चर्चा पनि चलेको थियो ।

एकअर्काप्रति असन्तुष्टि बढेको अवस्थामा बादल समूहले छुट्टै गुटको अभ्यास गर्दा प्रचण्ड समूह झनै कमजोर अवस्थामा पर्ने देखिएको छ । गृहमन्त्री बादल समूहले वैचारिक रुपमा प्रचण्डसँग तथा सांगठनिक र सरकार सञ्चालनमा ओलीसँग मिल्ने संकेत देखाएको छ । अहिले ओलीको राजीनामा माग्न नहुने निष्कर्ष बिहीवार गृहमन्त्री बादलको सरकारी निवास पुल्चोकमा भएको भेलाले निकालेको छ । तर प्रचण्ड राजीनामाको अडानमा कायमै छन् ।

बादलले छुट्टै शक्ति अभ्यास गर्दा, उपाध्यक्ष बामदेव गौतमले ओलीको राजीनामा माग्न नहुने प्रस्ताव राख्दा प्रचण्ड–नेपाल समूहको प्रयास अल्पमतमा पर्ने देखिएको छ । बामदेव र बादल अलग भएपछि प्रचण्ड–नेपाल समूह ९ सदस्यीय नेकपा सचिवालयमा अल्पमतमा परेको छ ।

यो पनि पढ्नुहोस्-

नेकपाभित्र पूर्व माओवादी समूह छिन्नभिन्न, यस्तो छ पछिल्लो समिकरण

प्रतिक्रिया दिनुहोस
Advertisement