पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ, छोरा प्रतिकमाथि अनुसन्धान हुंदै


काठमाण्डु – ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ललितपुरस्थित थेचुबाट प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

राईको नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गरेको घटनामा संलग्नता रहेको प्रहरीको दावी छ । उनि तत्कालिन गृहमन्त्री थापाको २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए ।

थापा गृहमन्त्री हुंदा प्रहरीको सरुवा बढुवामा समेत उनको भुमिका बढी नै भएको भन्दै आलोचना हुने गरेको थियो । राई र थापाका छोरा प्रतिक थापामाथि प्रहरीको सरुवा बढुवामा मोटो रकम असुल्ने गरेको आरोप छ ।

नक्कली शरणार्थीको प्रकरणमा पूर्व गृहमन्त्री थापाको छोरा प्रतिक इन्द्रजित राईका छोरा निरज र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपको नाम समेत जोडिएको छ । उनिहरु दुवै जनाको प्रहरीले अनुसन्धान गरिरहेको एसएसपी कार्कीले जानकारी दिए ।

प्रहरीले यो प्रकरणमा एमाले नेता रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई पक्राउ गरिसकेको छ । उनिहरुको वयानको आधारमा प्रहरीले मंगलवार राईलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement