काठमाण्डु– अष्ट्रेलियाले भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
अष्ट्रेलियाली सरकारले शुक्रबार सार्वजनिक गरेको घोषणाअनुसार उक्त रकम राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत परिचालन हुनेछ ।
बाढीपछि नेपालमा रहेका आफ्ना नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन पनि अष्ट्रेलियाले छुट्टै संयन्त्र परिचालन गरेको छ । अष्ट्रेलियाले बाढीपछि कम्तीमा ३९ जना आफ्ना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ ।
अष्ट्रेलियाले विदेश मामिला तथा व्यापार विभागको संकट प्रतिकार्य टोलीका सदस्य र क्षेत्रीय कन्सुलरलाई पनि नेपाल पठाइएको जनाएको छ ।
मानवीय सहायता सञ्चालनलाई थप प्रभावकारी बनाउन अष्ट्रेलियाले तीन जना विशेषज्ञलाई नेपाल पठाउने तयारी गरेको छ । प्रारम्भिक टोली ४८ घण्टाभित्र काठमाण्डु उत्रने जानकारी दिइएको छ ।
उक्त टोलीले नेपालमा रहेका अष्ट्रेलियाली अधिकारीसँग मिलेर प्रभावित क्षेत्रको मानवीय अवस्थाको समीक्षा गर्नुका साथै राहत व्यवस्थापन, सूचना संकलन, सञ्चार तथा आगामी सहयोगजस्ता विषयमा काम गर्ने बताइएको छ ।




प्रतिक्रिया