धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् ।
प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले बुधबार जारी गरेको विज्ञप्तिमा भदौ १० गते भोटेकोशी नदी र सोको तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरिएको छ ।
बाढीमा परी मृत्यु भएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता तथा हराइरहेका व्यक्तिहरू सकुशल फेला परून् भन्ने कामना गरिएको छ ।
विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित व्यक्ति, परिवारजन र समुदायलाई विपद्को दूरगामी असर सामना गर्ने सामर्थ्य मिलोस् भन्ने कामना गरिएको छ ।
प्रदेश प्रमुख मियाँले उद्धार, राहत तथा पुन:स्थापनाको काममा निरन्तर खटिरहेका तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न मित्रराष्ट्रबाट खटिएका टोली, सामाजिक संघसंस्था, निजी क्षेत्र, सुरक्षा निकायसहित सम्पूर्ण राष्ट्रसेवक तथा आमनागरिकलाई धन्यवाद दिए ।
विपद्को समयमा थप सहयोगका लागि सबैमा आह्वान गर्दै बाढी प्रभावितको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा उनले गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोशी बाढी प्रभावितको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।




प्रतिक्रिया