भोटेकोशी बाढीमा १ हजार ३५७ जनाको शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा १ हजार ३५७ जनाको शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–त्रिशुली– भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा हालम्म १ हजार ३५७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जसमध्ये पहिचान खुलेका १०२ जनाको शव परिवारलाई बुझाइसकिएको छ ।

तर, बाढीमा हराएका ठूलो संख्याका मानिसको अवस्था अझै पत्ता लाग्न सकेको छैन । प्राधिकरणको तथ्यांकअनुसार ५ हजार ३२६ जना सम्पर्कविहीन छन् । तीमध्ये सबैभन्दा धेरै रसुवामा २ हजार ८६० जना छन् । नुवाकोटमा १ हजार ९८१ नेपाली र करिब ५८७ जना विदेशी पर्यटक पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ ।

प्रभावित क्षेत्रमा उद्धार कार्य भने निरन्तर चलिरहेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्मा परेका १३ हजार ५८३ जनालाई उद्धार गरिएको छ ।

घाइतेमध्ये ६ हजार ८२७ जनाले उपचार पाएका छन् । नेपाली सेनाले ३ हजार ४०४ जना, सशस्त्र प्रहरी बलले ३ हजार ९६ जनाको उपचारमा सहयोग गरेको छ । त्यस्तै, १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको ठूलो जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना उद्धार तथा खोजीमा खटिएका छन् । तीनवटै सुरक्षा निकायबाट परिचालित जनशक्ति २१ हजार ४०२ छ ।

विस्थापितलाई तत्काल व्यवस्थापन गर्न रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । होल्डिङ सेन्टर सञ्चालनमा अहिले ३ हजार ५३३ जना छन् । नुवाकोटका केन्द्रमा मात्रै २ हजार ६५१ जना छन् । रसुवामा ६६९ र धादिङमा २१३ जना राखिएका छन् ।

उद्धारका क्रममा हवाई साधनको पनि व्यापक प्रयोग भएको छ । नेपाली सेनाले १ हजार १५७ पटक हेलिकोप्टर उडान गरेको छ । काठमाण्डुमा रहेका निजी क्षेत्रका हेलिकोप्टरबाट १२९ र सशस्त्र प्रहरीबाट २०३ उडान गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट प्रभावित स्थानीय तहलाई राहत रकमसमेत पठाइएको छ । रसुवा र नुवाकोटले १–१ करोड तथा धादिङले ५० लाख रुपैयाँ पाएका छन् । त्यस्तै, प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन इन्धनको व्यवस्था गरिएको छ । हाल ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ । ४५७ वटा एलपी ग्यास सिलिन्डरमा अनुदानसमेत दिइएको छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना मर्मतसँगै प्रभावित घरधुरीमा विद्युत् आपूर्ति पनि फर्किन थालेको छ । रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ ।

विपद्को मानसिक असर कम गर्न स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ । उनीहरूले प्रभावित तथा विस्थापितलाई मनोसामाजिक परामर्श दिइरहेका छन् ।