काठमाण्डु – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका– ४, चारकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका– २, लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका– ५, खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ६, रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ ।
रुकुम पूर्वको भूमे गाउँपालिका– ४, काडाबगर र भूमे गाउँपालिका– ५, धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका– १०, बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र बेँसीसहर नगरपालिका– ६, खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् ।






प्रतिक्रिया