काठमाण्डु – अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा क्षति पुर्याएको छ । यस्तै अविरल वर्षाका कारण भेरी कोरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटअन्तर्गत इलाका प्रहरी कार्यालय रग्दाका अनुसार बिहीबार रातिदेखि परेको लगातार वर्षाका कारण तासुघाट खोलामा आएको बाढीले सडक कटान गर्नुका साथै आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ ।
यस्तै, नलगाड– १०, रोलीस्थित तासुघाट खोलामाथि रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भागसमेत बाढीले बगाएको छ । पुल बगाएपछि घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि गएको प्रहरी टोलीसमेत घटनास्थलसम्म पुग्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटाइएको थियो । तर, झोलुङ्गे पुल बगिसकेकाले प्रहरी टोली सम्बन्धित स्थानमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीले रोलीका चार घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ । पृर्थिबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर बगेको छ । उनको परिवारका नौ जना सदस्य भने सुरक्षित स्थानमा बसेका छन् ।
त्यस्तै, खैते विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर, नरबहादुर विकको तीनतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर र हस्त विकको दुईतले ढुंगा–माटोले बनेको टिनले छाएको घर बाढीले बगाएको प्रहरीले जनाएको छ । उनीहरूका क्रमशः १०, १० र आठ जना परिवार सदस्य सुरक्षित स्थानमा सरेका छन् ।
बाजुरामा दुई जना घाइते, एक बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको त्रिवेणी नगरपालिका– ९, ताम्सुमा दुई घरमा क्षति पुगेको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण ताम्सुमा पहिरो गएको हो ।
ताम्सुमा बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परेर क्षति भएको छ । पहिरोमा परेका सोही परिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ ।




प्रतिक्रिया