लाङटाङ नजिकको हिमनदी खस्दा नेपाल–तिब्बत सीमामा बाढी आएको वैज्ञानिकको निष्कर्ष

लाङटाङ नजिकको हिमनदी खस्दा नेपाल–तिब्बत सीमामा बाढी आएको वैज्ञानिकको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल–तिब्बत सीमामा आएको विनाशकारी आकस्मिक बाढी हिमनदी खसेका कारण आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वैज्ञानिकहरूले बताएका छन्।

यसअघि भूकम्पका कारण पहिरो खसेर बाढी आएको अनुमान गरिएको थियो। तर अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले घटनाको कारण ‘हिमनदी पतन’ भएको स्पष्ट पारेको छ।

वैज्ञानिकहरूका अनुसार हिमनदी उपत्यकाको तल्लो भागमा खस्दा उत्पन्न भएको प्रभाव यति शक्तिशाली थियो कि त्यसले ५.२ म्याग्निच्युडको भूकम्पसरह कम्पन रेकर्ड गराएको बीबीसीले जनाएकाे छ ।

डन्डी विश्वविद्यालयका हिमनदी विशेषज्ञ डा. साइमन कुकका अनुसार बाढी आएको स्थानभन्दा करिब १५ किलोमिटर पश्चिममा रहेको लाङटाङ लिरुङ हिमाल नजिकको हिमनदीको तल्लो भाग खसेको उनको टोलीले पत्ता लगाएको छ। हिमनदी उत्तरपश्चिम दिशातर्फ खसेर त्यसपछि नदीको बहावसँगै पश्चिमतर्फ बगेको हुनसक्ने उनको अनुमान छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको विश्लेषणले पनि उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसहितको ठूलो हिमपहिरो गएको हुनसक्ने देखाएको छ।

हिमनदी र चट्टानको ठूलो मात्रा ल्हेन्डे खोलामा खसेपछि भोटेकोशी नदीमा अचानक ठूलो बहाव आएको थियो। त्यससँगै पानी, गेग्रान र ठूला ढुंगा तीव्र गतिमा तल्लो क्षेत्रमा बगेका थिए।

केन्द्रका अनुसार नदीको तल्लो क्षेत्रमा ३० मिनेटमै पानीको सतह ७ देखि ९ मिटरसम्म बढेको थियो। बाढीका कारण पानी मापन गर्ने केही केन्द्र बगेका तथा क्षतिग्रस्त भएका छन्।

वैज्ञानिकहरूले हिमालय क्षेत्रमा तीव्र गतिमा पग्लिरहेको बरफ र हिमनदीका कारण यस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।