बढुवामा असन्तुष्टि जनाउँदै एसपी नरेन्द्र उप्रेतीद्वारा राजीनामा


काठमाडौं – नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ।  शनिबार मात्रै भएको प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीको बढुवामा असन्तुष्ट जनाउँदै नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आइतबार नै प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिन लागेका हुन्। गृह मन्त्रालयले शनिबार डिएसपीलाई एसपीमा र एसपीलाई एसएसपीमा बढुवा गरेको थियो। एसपीबाट एसएसपी बन्ने १४ जनामा नपरेपछि उप्रेतीले राजीनामा दिने निर्णय गरेका हुन्।

उनले आफूभन्दा ’जुनियर’को बढुवा हुँदा पनि आफू नपरेको भन्दै असन्तुष्टि जनाएका छन्। उप्रेतीभन्दा जुनियर बढुवामा पर्ने अधिकृतहरूमा दीपक थापा, टेकप्रसाद राई र भीम ढकाल हुन्।  उप्रेतीले राजीनामाबारे भने, ’मैले २४ वर्ष प्रहरी सेवामा काम गरेँ, संगठनले न्याय दिएन। संगठनप्रति मेरो सद्भाव रहिरहनेछ तर संगठनमा रहिरहन सक्ने अवस्था छैन।’

उप्रेतीले यसअघि सिन्धुली, बारा, रसुवा, उदयपुर लगायतका जिल्लाको नेतृत्व गरेका थिए। उनलाई प्रहरी संगठनभित्र व्यवसायिक क्षमता भएको प्रहरी अधिकृतका रूपमा लिइन्छ।  बढुवामा आफूभन्दा जुनियर बढुवामा परेको तर आफू नपरेको भन्दै उनले आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement