भोटेकोसीमा ठूलो बाढी आएपछि महाशाखाले भन्याे- चितवनसम्मै उच्च सतर्कता अपनाउनु

भोटेकोसीमा ठूलो बाढी आएपछि महाशाखाले भन्याे- चितवनसम्मै उच्च सतर्कता अपनाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट एक्कासि ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बुधबार बिहान करिब सवा ९ बजे भोटेकोसीमा अचानक ठूलो बाढी आएको हो। बाढी नुवाकोट सदरमुकामभन्दा अगाडि बढिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

रसुवा, नुवाकोटको सम्पूर्ण क्षेत्र, पृथ्वी राजमार्गदेखि मुग्लिनसम्म त्रिशूली नदीसँग जोडिएका क्षेत्र तथा चितवनसम्म बाढीको प्रभाव पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

माथिल्लो क्षेत्रमा ठूलो वर्षा नभएको अवस्थामा पनि एक्कासि बाढी आउनुको कारणबारे चीनसँग समन्वय गरेर जानकारी लिइने महाशाखा प्रमुख विनोद पराजुलीले बताए।

उनका अनुसार बाढीको अवस्था र सम्भावित जोखिमबारे थप सूचना प्राप्त भएपछि आवश्यक जानकारी सार्वजनिक गरिनेछ।