काठमाण्डु– आज (मंगलबार) देशका विभिन्न २४ जिल्ला भएर बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।
यस्तै ललितपुर, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज बाढी, पहिरो र सडक मर्मतका कारण देशभरका ५ वटा सडक खण्डहरू पूर्ण रुपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा सवारी आवागमन प्रभावित बनेको हो।
आज काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी चल्ने बिपी राजमार्ग सडक, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मीस्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डु सडक खण्ड अवरुद्ध रहेको छ ।
यस्तै रोल्पाको रुकुम घोराही सहिद मार्ग र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा भेरी करिडोर र जाजरकोट नलगाडको जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।





प्रतिक्रिया