कांग्रेस–एमाले मिलेर सरकार बनाउनु रहर होइन, बाध्यता हो : मन्त्री पाण्डे

कांग्रेस–एमाले मिलेर सरकार बनाउनु रहर होइन, बाध्यता हो : मन्त्री पाण्डे


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको राजनीतिबाट कहिल्यै नझुक्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस बाजुरा–काठमाण्डु सम्पर्क समितिका सभापति अधिवक्ता सूर्यबहादुर शाहको अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बाजुरा जिल्लाका मतदाता, शुभेच्छुक तथा शुभचिन्तकप्रति कृतज्ञता प्रकट गरे ।

३ पटकसम्मको संसदीय यात्रामा रहेका पाण्डे पहिलोपटक मन्त्री बनेसँगै कांग्रेस बाजुरा सम्पर्क समितिले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भने, ‘जिल्लाका सबै मतदाताप्रति कृतज्ञ छु । अहिले जे प्राप्त गरेको छु, कार्यकर्ता, पार्टी र नेताहरूको विश्वासका कारण भएको हो । निष्ठाको राजनीतिबाट कहिल्यै झुक्न दिन्न ।’

शुभेच्छुकहरूबाट विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने शुभेच्छा पाइरहेको उनले बताए । मन्त्री पाण्डेले मन्त्री, प्रधानमन्त्रीहरू गतिहीन हुन नहुनेमा जोड दिए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु रहर नभएर बाध्यता भएको दाबी गरे । उनले अघिल्लो सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि हुँदाहुँदै पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए । मन्त्री पाण्डेलाई कांग्रेसका नेता कार्यकर्ताहरूले जिल्ला र मुलुकको शिर ठाडो पार्ने गरी काम गर्न समेत अनुरोध गरे ।

जिल्लाका सम्भावित पर्यटन क्षेत्रको विकासका लागि विशेष पहल गर्न समेत उनले आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला सभापति, पूर्व सभापतिहरू, संविधानसभा सदस्यका साथै पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता थियो ।