बागेश्वरी सडक १० दिन बन्द

बागेश्वरी सडक १० दिन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।

बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए ।

उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ । बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो ।

सङ्घीय सरकारबाट ४ करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए । व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार ५.५ देखि ७.५  मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ ।

हालसम्म ८५० मिटर सडक कालोपत्र भइसकेको छ । अध्यक्ष भट्टराईले भने, “सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ । सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ ।