बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाण्डु- बागमती प्रदेश सरकारले दुई जना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार, ऐनअनुसार सो तह प्रदेश सचिवसरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औँ तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ ।

यो निर्णयसँगै प्रदेश सरकारमा चारजना सचिव नियुक्त हुनुभएको छ । बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement