बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य


हेटौंडा – बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।

यसअघि बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार प्रदेशसभा अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

प्रदेश सभाको अधिवेशन प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्ने सम्बन्धी पत्र आएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement