हेटौंडा – बागमती प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेटमाथि पुरक प्रस्तावको अडान राखेपछि संसद् अवरुद्ध भएको छ ।
शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुन: सारिएको छ ।
बैठक सारिनुको कारण प्रतिपक्ष दलहरूले बजेटको पुरक प्रस्ताव संसद्मा ल्याउनुपर्ने अडान रहेको बताइएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्ताव विनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन् । उनका अनुसार सरकारले ल्याएको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पुरक प्रस्ताव ल्याउन माग गरिएको छ । शुक्रबारदेखि नै सरकारसँग निरन्तर छलफल भइरहेको उनले बताए ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सचिवालयका अनुसार संसद्मा दर्ता भएको संकल्प प्रस्तावमा पुरक प्रस्ताव समावेश गर्ने तयारी भइरहेको छ । प्रस्तावलाई संसद्ले पास गरी सरकारलाई निर्देशन दिने र बाँकी कार्यक्रमहरू कार्यान्वयन गरिने योजना बनाएको छ ।
तर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रतिपक्षको मागअनुसार तुरुन्तै पुरक प्रस्ताव ल्याउने सम्भावना नदेखिएको बताए । संसद् चलाउने विषयमा अझै स्पष्ट निष्कर्ष ननिस्किएको उनले बताए ।
प्रतिक्रिया