हेटौंडा – नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । तर, कांग्रेस र एमालेका सांसदको संख्या जोड्दा ६४ पुग्ने भएकाले लामाले विश्वासको मत पाउने निश्चित छ ।
प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । आजै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । नुवाकोटका लामा बागमती प्रदेशमा तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।
बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको कांगेस नेता लामाले जानकारी दिए ।
प्रतिक्रिया