विश्वको ध्यान जेनेभामाः वाइडेन र पुटिनले मिलाए हात


एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षि भेटवार्ता सुरु भएको छ । वाइडेन राष्ट्रपति बनेपछि स्वीट्जरल्यान्डको राजधानी जेनेभामा दुई समकक्षीबीच पहिलो प्रत्यक्ष भेटवार्ता सुरु भएको हो ।

अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो भेटवार्ता हुन लागेको हो । उनीहरू दुबै जनालाई स्विटजरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले स्वागत गरेका थिए । ‘राष्ट्रपति महोदय, तपाईंहरू दुबै जनालाई शान्तिको सहरमा स्वागत छ । यहाँहरूको वार्ता दुबै पक्षको हितका लागि फलदायक होस्,’ पार्मेलिनले यसो भनेपछि बाइडेन र पुटिनले हात मिलाएका थिए । यी दुई मुलुकका राष्ट्रप्रमुखले हात मिलाएपछि यो भेटलाई विश्वमै चासोको रुपमा हेरिएको छ ।

यसअघि विगत चार महिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए । राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाएका छन् ।

साथै उनले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन् । तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहेका छन् । अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेश हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement