वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत कामदार स्वदेश फर्किने

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत कामदार स्वदेश फर्किने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा रहेका करिब ८० प्रतिशत कामदार स्वदेश फर्कन चाहेको अध्ययनले देखाएको छ।

माइग्रेन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान (एनपीआई) ले गरेको अध्ययनअनुसार ८० प्रतिशत कामदार फर्किन चाहेको देखिएको हो। तर, फर्कन चाहेकामध्ये ७० प्रतिशत कामदार स्वदेशमा रोजगारी ग्यारेन्टी नहुँदा अन्योलमा छन्।

कोरोनाका कारण करिब ६ लाखले रोजगारी गुमाएर स्वदेश फर्किेने प्रतिक्षामा छन्। कामदार फर्किन चाहे पनि स्वदेशमा रोजगारीको अवसर नदेख्दा तनावमा छन्। एनपीआईले भारत, मलेसिया र खाडी क्षेत्रका ६ वटा देशमा कार्यरत ६ सय २५ जना श्रमिकसँग अध्ययन गरेको थियो।

धेरैले परिवारसहित स्वदेशमै स्वरोजगारमा संलग्न हुन चाहे पनि आफूसँग पैसा नभएको अध्ययनका क्रममा पाइएको थियो। ८० प्रतिशत कामदार विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घर परिवारका महिनैपिच्छे आवश्यकता पूर्ति गर्नमै खर्चिन्छन्। जसले गर्दा फर्केपछि सानो रकम लगाएर भए पनि स्वरोजगारमा संलग्न हुन चाहे पनि इच्छा पूरा हुन नसकेको अध्ययनमा देखिएको छ।

एनपीआईका कार्यकारिणी सदस्य एवं अनुसन्धानकर्ता सरु जोशीले श्रमिकको पारि श्रमिक न्यून हुँदा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी दैनिक खर्चमै सकिने गरेको बताइन्। उनले भनिन्, ‘फर्केका कामदारलाई उद्यमी बनाउन राज्यले सहयोग गर्नुपर्छ।’

सरकारले सहुलियतका कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेको छैन। अनुसन्धानकर्ता जोशीले स्थानीयस्तरमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने प्रशस्त सम्भावना देखिए पनि सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको बताइन्। वैदेशिक रोजगारीबाट फर्केका कृषि क्षेत्रमै सामेल हुने सरकारको अपेक्षा छ।

अनुसन्धानकर्ता जोशीले मलेसिया र खाडीमुलुकमा कामदारले मरिमेटी काम गरेर ३० हजार पनि कमाउन नसकेको बताइन्। वैदेशिक रोजगारीमा रहेकामध्ये ७५ प्रतिशत हिस्सा खाडी र मलेसियामा छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।