काठमाण्डु– सिंहदरबार वैद्यखाना विकास समितिको औषधि उत्पादन बढाउन सरकारले विज्ञ टोलीसहित कार्यदल गठन गर्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफलपछि कार्यदल गठन गर्ने निर्णय भएको हो।
वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा गठन हुने कार्यदलले तीन महिनाभित्र समितिको विकासको खाका र कार्यान्वयनयोग्य कार्ययोजना तयार गर्नेछ।
स्वास्थ्य सल्लाहकार डा. अग्रवालले नेपालमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउनुपर्ने बताए। आगामी दिनमा नेपाली आयुर्वेदिक औषधि विदेशमा समेत निर्यात गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
सरकारी अधिकारीहरूले जडीबुटीको संकलनदेखि प्रशोधन र उपयोगसम्म देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय र कानुनी सुधार आवश्यक रहेको बताएका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटी उत्पादन बढाउन किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’मा जानुपर्ने बताए। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता मुख्य चुनौती रहेको बताइन्।
छलफलमा सामुदायिक वन, वनस्पति विभागलगायत सम्बन्धित निकायका प्रतिनिधिले जडीबुटीको उत्पादन, संकलन र उपयोग बढाउन कानून तथा नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।




प्रतिक्रिया