काठमाण्डु– सरकारले बाजुरा र हुम्लाको सीमासम्बन्धी अध्ययन गर्न समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले समिति गठन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक(एक जना प्रतिनिधि सदस्य रहनेछन्।
नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरिएको छ भने नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो ।
केहि दिन अघि लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिट समेत भएको थियो ।
यस्तैमा हिमाली युवा क्लब बाजुराले कर्णाली करिडोर जेठ १० गते दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ।
केही दिनअघि बाजुराको हिमाली गाउँपालिका(३ मा भएको घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।




प्रतिक्रिया