काठमाण्डु – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) शनिबार मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा काठमाण्डु दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ ।
हिजरी संवतअनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । मुस्लिम धर्मावलम्बीले तीन दिन यो पर्व मनाउने गर्छन् ।
बकरइदमा नमाजपछि आआफनो घर गई क्षमता र हैसियत हुनेहरूले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने चलन छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको भने हुनु हुँदैन ।
इस्लामिक धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लागि, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस् भन्ने मान्यता छ । कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ ।
यस्तै दोस्राे र तेस्राे दिन पनि कुर्बानी दिन सकिन्छ । यो बकर ईदसँग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ । प्रत्येक वर्ष नेपालबाट सयाैँ हजयात्री हजमा सहभागी हुन साउदी अरेवियाको मक्का जाने गरेका छन् । हजमा गएका नेपालीहरूले बकर ईदको नमाज साउदीमा नै पढ्ने गर्छन् ।यो महिनापछि इस्लामिक नयाँ वर्ष मोहर्रम सुरु हुन्छ । बकर ईद पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया