अल्फा बिटाका सञ्चालकसँग किन झोंक्किए बालेन ?


काठमाण्डु- काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगे ।

महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडि बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ ।

सो क्रममा मेयर शाह अल्फा बिटाका सञ्चालकसँग झोंक्किएका छन्। शाहले सुरुमा अल्फा बिटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए । तर, शर्मा आफूसँग नक्सा नभएको भन्दै पन्छिन खोजेपछि शाह झोंक्किएका हुन् ।

त्यसक्रममा मेयर शाह र शर्माबीच केहिबेर भनाभनसमेत भएको थियो ।  मेयर बालेनले झोंक्किएर प्रश्न गरे, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

शर्माले आफूहरुलाई मेयरले थर्काउन खोजेको आरोप लगाए । उनले महानगरले मिडिया स्टन्ट गरेकोसमेत बताए ।  जवाफमा बालेनले आफूहरुले मिडिया स्टन्ट पनि नगरेको र पूर्वसूचना दिएर काम गरिरहेको बताए । त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर त्यहाँबाट बाहिरिए।

प्रतिक्रिया दिनुहोस
Advertisement