रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री बालेन कहिले जान्छन् जङ्गीअड्डा ?

रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री बालेन कहिले जान्छन् जङ्गीअड्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई संसद् बैठकमा खोजिएको धेरै दिन भयो । तर उनी संसद्मा गएर सांसदसँग संवादमा सहभागी भएका छैनन् ।

खुला छलफल गर्ने स्वभाव नभएका प्रधानमन्त्री बालेनको अभाव संसद्मा खड्किरहेको छ । उनले गृह मन्त्रालयसमेत सम्हालेकाले संसदीय समितिमा समेत गृहमन्त्रीको समेत खोजी हुने गरेको छ ।

प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय समेत सम्हालेका छन् । नेपाली सेनाको विभागीय मन्त्रालय भएका कारण सेनाका नियमित काम–कारवाही समेत प्रधानमन्त्री बालेनसँग प्रत्यक्ष जोडिन्छन् ।

नवनियुक्त प्रधानमन्त्रीले सैनिक मुख्यालय जङ्गीअड्डा गएर ब्रिफिङ लिने प्रचलन पुरानै हो । सेनाले बहालवाला प्रधानमन्त्री बालेनलाई समेत जङ्गीअड्डा भ्रमणको निम्तो दिइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भ्रमणको कार्यक्रमबारे जवाफ नफर्काएको स्रोतले जनाएको छ ।

चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्रीले कार्यभार सम्हालेको २ महिना पुग्नै लागेको छ । तर उनी जङ्गीअड्डा गएका छैनन् र कहिले जाने भन्ने पनि यकिन छैन ।

जङ्गीअड्डा भ्रमण गरेर प्रधानमन्त्रीले नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यबारे ब्रिफिङ लिने प्रचलन छ ।

सेनाले गरिरहेका कार्यहरू र आगामी कार्ययोजनाबारे समेत प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने कार्यक्रम हुने गरेको छ । तर यसपालि सरकार गठन भएपछि सैनिक मुख्यालयले न प्रधानमन्त्री, न रक्षामन्त्री कसैलाई पनि ब्रिफिङ गर्न पाएको छैन ।

यसबारे काठमाण्डुपाटीलाई प्रतिक्रिया दिँदै सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्रीबाट अनुकूलतामा जङ्गीअड्डा भ्रमण हुने विश्वास व्यक्त गरेका छन् ।