काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा नजाने भएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ कोबजेट प्रतिनिधिसभाबाट आजै पारित गर्ने कार्यसूची छ ।
त्यसअघि प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्ना कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विनियोजन विधेयकमा सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ ।
जारी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
यद्यपि शाहले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन् ।
प्रधानमन्त्रीबाहेक आज अर्थमन्त्री वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले छलफलमा उठेका पश्नहरुको जवाफ दिनेछन् ।
जवाफपछि बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूका २० वटा कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।
खर्च कटौतीका प्रस्तावपछि विनियोजन विधेयक २०८३ का दफा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक–२०८३ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सरकारसँग करिब दुई तिहाई बहुमत भएकाले सहजै विधेयक पारित हुने निश्चित छ ।




प्रतिक्रिया