काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत श्रद्धाञ्जलि सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।
उनले विश्वको १२औँ अग्लो, पाकिस्तानको काराकोरम पर्वत शृंखलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमालमा विश्व कीर्तिमानधारी निर्मल पुर्जासहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीको दु:खद निधनले आफू स्तब्ध भएको बताए ।
प्रधानमन्त्री शाहले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै दिवङ्गत आरोहीहरूको भौतिक यात्रा टुंगिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले निर्मल पुर्जासहित सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया