काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी उद्धार, राहत तथा पुन:स्थापनाका कामलाई थप तीव्रता दिइएको जानकारी दिएका छन् ।
प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएपछि प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन् ।
प्रधानमन्त्री बालेनका अनुसार अहिले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् । नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।
खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन् । उद्धार तथा राहत कार्यको निरन्तर समन्वय र अनुगमनका लागि नेपाली सेनाको संयुक्त सञ्चालन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रूत कार्यदल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको द्रूत कार्यदल सक्रिय छन् ।
हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी रहेको जनाइएको छ । बुधबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ । थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ । हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रबाट फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यसमेत जारी छ । करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ ।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, सुत्ने झोला, म्याट्रेस, कम्बल लगायत राहत सामग्री १० ट्रक पठाइएको छ भने थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ ।
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा आधारभूत सेवाको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाहरू पनि उद्धार र राहतमा परिचालित छन् । नेपाल रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपतकालीन शैया तयारी अवस्थामा राखिएको जनाइएको छ ।
प्रभावित तथा घाइते नागरिकको नि:शुल्क उपचार सुनिश्चित गरिएको छ । ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थाबाट आवश्यक औषधि तथा उपकरणसहित स्वास्थ्य टोली परिचालन गरिएको छ । धुलिखेल अस्पताललगायत अन्य स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ ।
राहत तथा उद्धार सामग्रीको आपूर्ति व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ । जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, पाल तथा फलाम र ढुंगा काट्ने उपकरणसमेत हवाई तथा स्थलमार्गबाट पठाइँदैछ । विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालको ‘भीष्म क्युब’ समेत त्रिशूलीतर्फ पठाइएको छ ।
दूरसञ्चार सेवा पुन:स्थापनालाई पनि आपतकालीन प्राथमिकतामा राखिएको छ । हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन् । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याई सेवा पुन:स्थापनाको काम भइरहेको छ ।
प्रभावित नागरिकलाई तत्काल नि:शुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा नि:शुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको छ भने एनसेलले समेत नि:शुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा प्रदान गरेको छ । अस्थायी मोबाइल सम्पर्क तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको छ ।
सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चार लगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुन:सञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ । सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन तथा पुन:सञ्चालनको काम तीव्र बनाउन निर्देशन दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युत् संरचना तथा अप्टिकल ग्राउन्ड वायरको पुन:स्थापनाको काम अघि बढाइएको छ । अत्यधिक प्रभावित क्षेत्र तथा उद्धार र राहत कार्यमा प्रत्यक्ष सहयोग पुग्ने संरचनालाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइँदैछ ।
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन पनि आवश्यक व्यवस्था गरिएको छ । नुवाकोटका विभिन्न आयल स्टोरमा डिजेल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको जनाइएको छ । थप १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल पठाइएको छ । हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ ।
प्रभावित क्षेत्रको वास्तविक अवस्था तथा क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण र स्थलगत मूल्यांकन भइरहेको छ । फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार तथा राहतलाई थप लक्षित र प्रभावकारी बनाउने काम भइरहेको छ ।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबिच निरन्तर समन्वय भइरहेको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन दिइएको छ ।
सरकारले मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाएको जनाएको छ । विपद्पछिको राहत तथा पुन:स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ । भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय रेडक्रस लगायतका साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबास र क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुन:स्थापनामा केन्द्रित रहेको बताएका छन् । उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर परिचालन हुने उनको भनाइ छ ।




प्रतिक्रिया