प्रधानमन्त्रीको अपिल : भारीदेखि अतिभारी वर्षाको सम्भावना छ, सतर्क रहनू

प्रधानमन्त्रीको अपिल : भारीदेखि अतिभारी वर्षाको सम्भावना छ, सतर्क रहनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आईतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षा तथा १–२ स्थानमा अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारीवर्षा हुन सक्ने सम्भावना रहेको छ ।

सम्भावित मौसम प्रणालीका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन प्रधानमन्त्री शाहले आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्नसमेत अनुरोध गरेका छन् । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोला नजिकका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन् ।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै उनले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा १–२ स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ ।