नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध आपसी सम्मान, अटुट विश्वास र सद्भावनामा आधारित रहेको बताएका छन्।
भारतको दुई दिने भ्रमणमा रहेका उनले प्राकृतिक विपत्ति र कठिन परिस्थितिमा भारतले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै भारतीय सरकार र जनताप्रति आभार व्यक्त गरेका हुन्।
सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै शाहले दुवै देशका नागरिकबीचको गहिरो सम्बन्ध नै द्विपक्षीय सम्बन्धको सबैभन्दा ठूलो शक्ति रहेको बताए।
‘नेपाल र भारतबीचको सम्बन्ध हिमालजस्तै बलियो र समुद्रजस्तै विशाल छ,’ उनले भने।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत आएको र भ्रमणका क्रममा पाएको न्यानो स्वागतका लागि पनि शाहले धन्यवाद व्यक्त गरे।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतबीचको कनेक्टिभिटी विस्तारका लागि विभिन्न पूर्वाधार परियोजना अघि बढाइएको जानकारी दिए।
भारतको उत्तराखण्ड र नेपालबीच धार्चुलामा सडक पुल उद्घाटन गरिएको उनले बताए। त्यस्तै, बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ।
नेपालको दोधारा चाँदनीमा पनि एकीकृत जाँच चौकी निर्माणको कामलाई तीव्रता दिइने मोदीले बताए। यी परियोजनाले उत्तराखण्ड र नेपालबीचको व्यापार तथा नागरिकको आवतजावत सहज बनाउने उनको भनाइ छ।
त्यसैगरी, बिहार, उत्तर प्रदेशलगायत भारतका अन्य राज्यसँग नेपालको सडक, रेल तथा सीमा कनेक्टिभिटीसम्बन्धी परियोजनालाई पनि गति दिइने मोदीले घोषणा गरे।
विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त भिजन
मोदीले भारत र नेपालले साझा भविष्यलाई नयाँ दिशा दिन संयुक्त भिजन डकुमेन्ट जारी गरेको बताए। यो ‘विकसित भारत र समुन्नत नेपाल’ को लक्ष्य हासिल गर्ने मार्गचित्र रहेको उनले बताए।
दुवै देशसँग स्पष्ट लक्ष्य, आपसी विश्वास र ती लक्ष्य पूरा गर्ने क्षमता रहेको उल्लेख गर्दै मोदीले संयुक्त भिजनलाई ठोस उपलब्धिमा रूपान्तरण गरेर नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय थपिने विश्वास व्यक्त गरे।
विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त भिजन डकुमेन्ट जारी, सडक, रेल र सीमा पूर्वाधार विस्तारमा सहकार्य गर्ने मोदीको घोषणा
उनले माता सीता, भगवान् राम र भगवान् बुद्धको आशीर्वाद दुवै देशसँग रहेको पनि बताए।
रामायणलाई विश्वभर पुर्याउन सहकार्य
मोदीले रामायणको साझा सांस्कृतिक विरासतलाई आधुनिक प्रविधि र चलचित्रका माध्यमबाट विश्वभर पुर्याउन नेपाल र भारतका युवा सिर्जनशील व्यक्तिहरूले सहकार्य गर्नुपर्ने बताए।
यसका लागि आगामी वर्ल्ड अडियो भिजुअल एन्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) मा नेपालको ठूलो प्रतिनिधिमण्डललाई स्वागत गरिने उनले बताए।
त्यस्तै, खेलकुद, विशेषगरी क्रिकेटमा सहकार्य विस्तार गर्ने मोदीको भनाइ थियो। नेपालमा खेल पूर्वाधार विकास तथा खेलाडीको प्रशिक्षणमा भारतले सहयोग गर्ने उनले बताए।




प्रतिक्रिया