प्रधानमन्त्री शाहले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। भेटपछि दुई पक्षीय हितका सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ। समकक्षी मोदीसँगको भेटअघि बिहान १० बजे प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले राजघाटस्थित गान्धी समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम पनि छ। उनले दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्रोैपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने उक्त भेटघाटपछि ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका छ।

प्रधानमन्त्री शाहको औपचारिक भ्रमण टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, पत्रकारसहित ३५ सदस्यीय छ। यसका अतिरिक्त ५२ उद्योगीव्यवसायी र दुई दर्जन बढी पत्रकार पनि प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका छन्।

प्रधानमन्त्री शाहलाई आइतबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। भारतका लागि नेपाली राजदूतसहित उच्च पदस्थ अधिकारीहरू पनि प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए।

प्रधानमन्त्री शाहलाई आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए ।

भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध पक्ष, विशेष गरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा, जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।