काठमाण्डुका मेयर बालेन साहले गरे पत्रकारमाथि दुर्व्यवहार, भिडियो बन्यो भाइरल


काठमाण्डु – काठमाण्डु महानगरका मेयर बालेन साहले समाचार संकलनमा पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । यतिबेला मेयर साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

मेयर साहले समाचार संकलनका लागि लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका पत्रकारलाई धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन दवाव दिएको भिडियोमा देख्न सकिन्छ । साथै पत्रकारलाई मेयर बालेन रहेको स्थानबाट धकेलेर बाहिर निकाल्न लगाएको भिडियोमा देख्न सकिन्छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि हिमालय टेलिभिजनका पत्रकार दिउँसो १ बजे त्यहाँ पुगेको टेलिभिजन समाचार शाखाले जनाएको छ ।

बाहिर आएको भिडियोमा मेयर साहले पत्रकारलाई तिमी भनेर बोलिरहेको देखिन्छ भने पत्रकारले सम्मानजनक शब्दमा बोलिरहेको सुन्न सकिन्छ । यसैबीच नेपाल पत्रकार महासंघले पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको विज्ञप्तिमार्फत बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement